
सुनसरी । मोरङको लेटाङमा एक विद्यार्थीलाई शिक्षकले यौन दुर्व्यवहार गरेको घटना सेलाउन नपाउँदै फेरिपनि सुनसरीकी एक नाबालिका यौन दुर्व्यवहारको शिकार बनेकी छन् ।
सुनसरीको गढी गाउँपालिका–२ मा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
चैत्र ८ गते पसलबाट फर्कंदै गरेकी १५ वर्षीया बालिकालाई २ जना मिलेर जिस्क्याएको तथा शरीरका गोप्य अंगमा छुन खोजेको भनी किटानी जाहेरी परेपछि आरोपीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरिक्षक घनेन्द्र हाङ खजुमले बताउनुभयो ।
पक्राउ परेकाको नाम सार्वजनिक गर्न प्रहरीले मानेको छैन । ‘आरोपी पनि नाबालक भन्ने कुरा आएको छ,’ प्रहरी निरीक्षक खजुमले भन्नुभयो, ‘उमेर खुल्ने कागजात ल्याउन भनेका छौं ।’ उहाँका अनुसार पक्राउ परेकाहरू २० वर्षभन्दा कम उमेरका हुन् ।
प्रहरीले जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको छ । उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।