
काठमाडौं । विवेक अग्निहोत्री द्वारा लिखित तथा निर्देशित फिल्म ‘द कश्मिर फाइल्स’ले भारतीय बक्स अफिसमा दुई सय करोडमाथिको कमाइ गरेको छ। दोस्रो सातामा चलिरहेको फिल्मले प्रदर्शनको १३ औँ दिन १० करोड (भारू) संकलन गरेको बताइएको छ।
योसँगै द कश्मिर फाइल्सले ‘सूर्यवंशी’को कीर्तिमान तोड्दै कोरोना महामारी यताको सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्म पनि बनेको छ। सूर्यवंशीले १९५ करोड कमाइ गरेको थियो।
सन् १९९० मा कश्मिरबाट लखेटिएका पण्डितहरूको कथा रहेको फिल्मले सुरुवाती दिनमा कम शो पाएको थियो। हलमा दर्शकको चाप बढ्दै गएपछि शो थपिँदै गयो। प्रदर्शनको पहिलो दिन ३ करोडको कमाइ गरेको फिल्मले दोस्रो दिन १९ करोडमाथिको बक्स अफिस कलेक्सन गरेको थियो।
फिल्मले सबैभन्दा धेरै कमाइ प्रदर्शनको दोस्रो आइतबार गरेको थियो। दोस्रो आइतबार सबैभन्दा धेरै कमाउने हिन्दी फिल्ममा द कश्मिर फाइल्स २६ करोड कमाउँदै चौथो नम्बरमा रहेको छ। उक्त सूचीको पहिलो, दोस्रो र तेस्रो नम्बरमा क्रमशः बाहुबली २, दंगल र सञ्जु रहेका छन्।
१५ करोड बजेटमा बनेको फिल्मले प्रदर्शनको तेस्रो दिन नै लगानी सुरक्षित गरेर मुनाफा कमाइसकेको थियो। फिल्मको १३ दिनमा भारतमा मात्रै २०० करोड १३ लाख कमाएको छ भने विश्वभरबाट फिल्मको जम्मा कमाइ २६६ करोडभन्दा माथि रहेको छ।
द कश्मिर फाइल्सलाई व्यावसायिक रुपमा भन्दा पनि तीस वर्षसम्म छायामा परेको कथा बाहिर ल्याएका कारण विशेष मानिएको छ। भारतका धेरै राज्यमा यसलाई ट्याक्स फ्रि पनि गरिएको छ। भने यो फिल्मले इतिहासलाई एउटा कोणबाट मात्रै हेरेको र यसमा पूर्ण सत्य नरहेको भन्दै फिल्मको आलोचना पनि भइरहेको छ।