गायक प्रकाश सपुतको जवाफः समाजबाट परिचालित भएको हो

काठमाडौं । गायक तथा मोडल प्रकाश सपुतले आफू समाजबाट परिचालित भएर ‘पिर’ गीत सार्वजनिक गरेको बताउनु भएको छ ।

पिर गीत सार्वजनिक गरेपछि माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएपछि उहाँले आफू समाजबाट परिचालित भएको जवाफ दिनु भएको हो ।

आज पत्रकार सम्मेलन गरेर उहाँले आफू समाजबाट परिचालित हुने गरेको र अन्य शक्तिले आफूलाई परिचालित गर्न नसक्ने बताउनु भयो ।

विवादपछि पिर गीतको भिडियोको केही दृश्य हटाएर पुनः युट्युबमा अपलोड गरिएको विषयमा गायक तथा मोडल सपुतले आफूले कसैसँग डराएर गीतको भिडियो डिलिट नगरेको जवाफ दिनुभयो ।

सुरुमा अपलोड गरिएको भिडियोलाई प्राइभेट गर्दै माओवादी युद्धमा होमिएको पात्र देहव्यापारमा संलग्न भएको दृश्य हटाएर पुन भिडियो अपलोड गर्नुभएका गायक सपुतले युद्धमा होमिएको पीडित समूहले चित्त दुखाएपछि आफू सोच्न बाध्य भएको बताउनुभएको छ ।

भिडियो सम्पादन गरेर पुनः अपलोड गरे पनि आफूले गीतमार्फत दिन खोजेको सन्देश यथावत रहेको उहाँको भनाइ छ ।

Back to top button