शिक्षाको अधिकार सुनिश्चित गर्न इन्सेकको आग्रह, लेटाङ घटना निन्दनीय

विराटनगर । मोरङको लेटाङ नगरपालिका–५ मा चैत ६ गते २६ वर्षीया महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या भएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले आज विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना एवं निन्दा गरेको छ । इन्सेकले विज्ञप्ति मार्फत् नागरिकको बाँच्न पाउने अधिकार खोसिएको भन्दै घटनाको भर्त्सना र निन्दा गरेको हो ।

प्रदेश संयोजक सोमराज थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा लेटाङ नगरपालिका–५ खेरूवास्थित शिक्षा विकास माध्यमिक विद्यालयकी छात्रामाथि सोही विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुव्र्यवहार गरेको विषयबाट उत्पन्न घटनाक्रमले सुरक्षाका लागि खटिएकी २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको घटनाप्रति इन्सेकले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ‘बाँच्न पाउने नागरिकको अधिकार खोसिएको प्रति इन्सेक भत्सना एवम् निन्दा व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तै इन्सेकले नेपाल सरकारले ०६८ जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको र दोषीलाई कारबाही गर्न सम्मानीत अदालत रहेको उल्लेख स्मरण गराउँदै विद्यालय परिसरमा दङ्गा, हुलहुज्जत, भाँडभैलो र अवाच्छित गतिविधि भई व्यक्तिको हत्या भएको घटनाप्रति खेद व्यक्त गरेको छ ।

घटनापछि विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकार प्रत्यक्ष खोसिएको विषयमा इन्सेक सबै पक्षको ध्यानाकृष्ट गराएको छ । ‘घटनाको स्वतन्त्र एवम् निष्पक्ष ढङ्गले छानबिन गरी दोषीलाई कारवाही गर्न इन्सेक जोडदार माग गर्दछ’ इन्सेकद्धारा जारी विज्ञप्तिमा लेखिएको छ,‘मानव अधिकार र मानव गरिमाको सम्मान गर्न सबै पक्षसँग आग्रह गर्दछौं ।

Back to top button