
दमक । गोर्खा ब्वाईज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको आजको खेलमा दुर्गापुर सन्डे क्लब कोलकातालाई ५–० गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाईज क्वाटरफाइनल प्रवेश गरेको हो ।
गोर्खा ब्वाईजको जीतका लागि यानिकले ३ गोल गरे । गोर्खाब्वाइजका लागि सुसन तामाङ र सुनील खड्काले एक/एक गोल गरे । गोर्खाब्वाइजले खेलको दास्रो मिनेटमै खाता खोल्यो ।
मैदानको मध्यभागबाट मिक्चेन तामाङको क्रसमा यानिकले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको २० औँ मिनेटमा यानिकले गोर्खा ब्वाईजको अग्रता दोब्बर बनाए । मैदानको मध्यभागबाट आएको बललाई यानिकले गोलमा परिणत गरे ।
खेलको ५१ औँ मिनेटमा सुसन तामाङले गोल थपे । उनले विपक्षी गोलरक्षक अघि बढ्दा सहज गोल गरे । खेलको इन्ज्युरी समयमा यानिकले व्यक्तिगत तेस्रो र टिमका लागि पाचौँ गोल गर्न सफल भए ।
खेलमा दुर्गापुरले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा घर फर्किन बाध्य भयो । दमक नगर खेलकुद विकास समितिको आयोजनमा जारी प्रतियोगिता अन्तगर्त आजको खेलको म्यानअफ द म्याच बिजयी टिमका यानिक घोषित हुँदै नगद दश हजार प्राप्त गरे ।
भोलीको पहिलो क्वाटरफाइनल खेल बागमती युथ क्लब सर्लाही र मनाङमस्र्याङ्दी क्लबबिच हुने आयोजक दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चाम्लागाईंले जानकारी दिनुभएको छ । बागमती आयोजक दमक–११ लाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।