
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।
शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल हुँदैछ।
कांग्रेस विधानअनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति बन्छन्। केन्द्रमा केन्द्रीय संसदीय समिति गठन गर्न लागिएको हो।
कांग्रेसले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि महानगर र उपमहानगरको टिकट केन्द्रीय संसदीय समितिबाट दिने तयारी गरेको छ।
केन्द्रीय समिति बैठक बस्नुपूर्व नै सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोक्नु भएको छ ।
साथै देउवाले रिक्त रहेका भातृ संस्थाका नेतृत्वमध्ये नेविसंघ र तरूण दलमा अध्यक्ष तोक्नु भएको छ ।
केन्द्रीय समिति बैठक बस्नुपूर्व धारणा बनाउन रामचन्द्र पौडेलले पनि आफूनिकट नेताहरूको भेला राख्नु भएको छ ।
यसअघि शेखर कोइराला पक्षको पनि भेला भएको थियो। सभापति देउवाले महाधिवेशनमा आएको ४० प्रतिशत मतको बेवास्ता गर्दै एकलौटी निर्णयहरू गरेको भन्दै ध्यानाकर्षण भएको बताएका थिए।
केन्द्रीय सदस्य मनोनयन, भातृ संस्था प्रमुख तोक्दा पनि देउवाले कोइरालासँग परामर्श नगरेको गुनासो छ।