
धरान । परीक्षाको लागि अनलाइन फारम भरेका विद्यार्थीको प्रवेशपत्र नआएर परीक्षा दिन नपाएपछि विद्यार्थी आन्दोलित हुँदा धरानस्थित पूर्वाञ्चल क्याम्पस तनावग्रस्त बनेको छ ।
आन्दोलित विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् ।
पूर्वाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये परीक्षाको लागि अनलाइन फारम भरेका सात जना विद्यार्थीको प्रवेशपत्र नआएपछि परीक्षामा सामेल हुन नपाउँदा उनीहरू आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीले आन्दोलनको क्रममा क्याम्पस प्रमुखको कुर्सी जलाउनुका साथै तोडफोडसमेत गरेका छन् । विद्यार्थीले क्याम्पस प्रशासनको ढोकामा तालाबन्दीसमेत गरेका छन् ।
बैङ्क भौचरसमेत राखेर इन्जिनियरिङ अध्ययन संस्थानकोे परीक्षा फारम अनलाइनमार्फत भरिएको तर वेभसाइटमा समस्या आएर विद्यार्थीको प्रवेशपत्र नआएको बताइएको छ ।
क्याम्पस प्रमुखसमेतको लापरवाहीका कारण विद्यार्थीको भविष्य नै अन्योल बनाउने काम भएकोले आफूहरू आन्दोलित भएको विद्यार्थी आभास शर्माले बताए । क्याम्पस प्रशासन र डीन कार्यालयलाई समस्या समाधान गरी परीक्षा दिने व्यवस्था गर्न माग गरेको तर कुनै सुनुवाइ नभएको विद्यार्थीको भनाइ छ ।