
काठमाडौं । जी–सेभेनमा आबद्ध देशहरुले युक्रेनलाई थप सैन्य सहयोग गर्ने भएका छन्।
अमेरिका, युरोप लगायत प्रभावशाली देशहरुको समूह जी–सेभेन सम्भेलनमा सहभागी नेताहरु रुसविरुद्ध एक हुँदै युक्रेनलाई थप सैन्य सामग्री सहयोग गर्न सहमत भएका हुन्।
यस देशहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अनाहकमा युक्रेनमाथि आक्रमण गरेको निष्कर्ष निकाल्दै युक्रेनलाई सक्दो सैन्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यस्तै, जी–सेभेन सम्मेलनलाई भिडियो मार्फत् सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोमिरि जेलेन्स्कीले थप सैन्य सहयोगको आग्रह गर्नुभएको थियो। उहाँले लडाकु विमान तथा सैन्य ट्यांकहरु माग गर्नुभएको थियो। बेलायतले युक्रेनलाई आफूले दिने भनेको क्षेप्यास्त्रको संख्या दोब्बर बनाउने बाचा गरेको छ।
जी–सेभेनका नेताहरुले रुसविरुद्ध आर्थिक प्रतिबन्धमा समन्वय गर्नुका साथै अमेरिका र ईयूले ऊर्जा आपूर्तिमा सहयोग वृद्धि गर्ने अनि विश्वव्यापी खाद्य सुरक्षा सुधार्न योजना बनाउने सहमति गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्रुरको संज्ञा दिँदै मस्कोले अतिक्रमणबाट चाहेको भन्दा विपरीत अवस्था पाइरहेको बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले रुसले विनाकारण गरेको अनुचित युद्धका सामू उनीहरू एकताबद्ध भएको बताउनुभयो ।