कांग्रेस कन्द्रीय समिति बैठकअघि बैठकस्थल सानेपामा विरोध प्रदर्शन हुने

काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले कांग्रेस केन्द्रीय समिति बैठकस्थल सानेपामा विरोध प्रदर्शन गर्ने भएका छन्।

गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गर्न लागेका हुन्।

‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त गर्नुभएको छ। यसप्रति हाम्रो गम्भीर असहमति रहेको छ’, पूर्वकेन्द्रीय सदस्य प्रेमिका रानामगरले भन्नुभयो, ‘बैठक सुरु हुनुअघि आज दिउँसो १ बजेदेखि नै शान्तिपूर्ण रूपमा केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गर्नेछौं।’

उहाँका अनुसार कोइराला समूहको बालुवाटारमा हिजो साँझ बसेको अनौपचारिक छलफलपछि सो प्रदर्शन गर्न लागिएको हो। बैठक आज दिउँसो २ बजेदेखि सुरु हुनेछ।

‘हिजो शेखर दाइको सचिवालयमा हाम्रो बैठक थियो। सो बैठकले सभापतिको एकलौटी निर्णयप्रति असहमति जनाउँदै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागेको हौं’, मगरले भन्नुभयो ।

उहाँका अनुसार उक्त बैठकमा कोइराला, चन्द्र भण्डारी, गुरुराज घिमिरे, केशव सिंह, प्रतिमा गौतम, मनोजमणि आचार्य, गोविन्दराज पोखरेललगायत नेविसंघ र तरुण दलका पूर्वपदाधिकारीहरूको उपस्थिति थियो।

Back to top button