
काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी भारत भ्रमणमा पुग्नुभएको छ । भ्रमणका क्रममा उहाँले आज सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
वाङ यीले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डलसहित हैदरावाद हाउसमा भेटवार्ता गर्नुभएको छ । त्यसअघि उहाँले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उहाँकै कार्यालय साउद ब्लकमा भेटवार्ता गर्नुभएको अधिकारीहरूले जनाएका छन्।
दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोबारे छलफल गर्नुभएको थियो ।
भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउनेबारे पनि उहाँले छलफल गर्नुभएको जनाइएको छ।
विभिन्न देशको भ्रमण गर्ने क्रममा उहाँ हिजो बेलुका भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुग्नुभएको हो। यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको ब्रिक्सका लागि निमन्त्रणा दिन चिनियाँ विदेशमन्त्री यी भारत आउनुभएको जनाइएको छ।
भारत आउनुअघि उहाँले पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठन (ओआइसी) को बैठकमा सहभागी हुनुभएको थियो।