
रुसले आक्रमण सुरु गरेयता १ सय ३५ जना बालबालिका मारिएको युक्रेन सरकारले बताएको छ।
युक्रेनको अभियोजन कार्यालयले दिएको जानकारीअनुसार रुसले गरेको आक्रमणमा परेर थप १ सय ५४ बालबालिका घाइते भएका छन् । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण थालेको हो ।
पछिल्लोपटक लुहान्स्क क्षेत्रको रुबिज्ह्न सहरमा रुसले गरेको आक्रमणमा परेर दुई बालबालिकाको मृत्यु भएको युक्रेनी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस्तै डोनेट्स्क क्षेत्रको नोभोमिखाइलिभ्कामा रुसी गोलाबारीका कारण ६ र १३ वर्षका बालबालिका घाइते भएका छन्। यसैगरी १३, १४ र १५ वर्षका बालबालिका जापोरिजिया क्षेत्रको ओबिल्नमा माइनमा परेर मारिएका छन्।
रुसी आक्रमणको निशानामा बालबालिका पनि आएको भन्दै विश्वव्यापी रुपमा निन्दा भइरहेको छ। युद्धका कारण युक्रेनका आधा बालबालिका विस्थापित भइसकेका छन्।