
काठमाडौं । नेपाल भ्रमणमा आएको पपुवा न्युगिनि (पिएनजी) ले पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाललाई अहिलेसम्मकै सर्वाधिक २ सय ९३ रनको विजयी लक्ष्य दिएको छ।
नेपालले यसअघि सर्वाधिक धेरै रनका रुपमा युएईले २०१९ मा दुबईमा २ सय ५४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले ४४दशमलव ४ ओभरमा पूरा गर्दै २ सय ५५ रन बनाएको थियो ।
टियू मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको पिएनजीले उसको एकदिवसीय करिअरकै सर्वाधिक स्कोर तयार गरेको हो । उसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन जोडेको थियो ।
यसअघि पिएनजीले हङकङविरुद्व २०१४ मा २ सय ६४ रन बनाएको थियो । पिएनजीका लागि चार्लेस अमिनीले सर्वाधिक ७७ रनको योगदान गरे । कप्तान आसाद भालाले ६० रन बनाउँदा नोर्मन भनुवाले २८ बलमा ४७ रनको विष्फोटक इनिङ खेले ।
पिएनजीको उच्च स्कोरमा टोनी उराले ३८ रन बनाए। त्यस्तै रिले हेकुरेले ३१ रन जोडे। जसन किला १३ रनमा अविजित रहे। नेपालका लागि कमल सिंह ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिँदा सन्दीप लामिछाने र पवन सराफले समान १/१ विकेट हात पारे।