
काठमाडौं । आजदेखि बहुप्रतीक्षित तेलुगु फिल्म ‘आरआरआर’ ले प्रदर्शन थालेको छ। पिरियड एक्सन ड्रामा जनरामा बनेको फिल्मको क्रेज नेपालमा पनि देखिएको छ।
आरआरआरले नेपालका अधिकांश मल्टिप्लेक्समा शतप्रतिशत शो पाएको छ। फिल्ममा दर्शकको चाप पनि उच्च देखिएको छ। आजदेखि आइतबारसम्मका अधिकांश शो बुक भइसकेका छन्। फिल्म हेरिसकेका दर्शकबाट पनि फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
एसएस राजामौलीको लेखन तथा निर्देशनमा बनेको ‘आरआरआर’मा राम चरण र जुनियर एनटिआर मुख्य भूमिकामा देखिएका छन्। जसले भारतका स्वतन्त्र सेनानी अल्लुरी सीताराम राजु र कोमराम भीमको भूमिका निर्वाह गरेका छन्।
सन १९२० को दशकमा अल्लुरी र कोमरामले बेलायती शासकहरूविरुद्ध गरेको लडाइँलाई आख्यानीकरण गर्दै फिल्म तयार पारिएको हो। सन २०१८ देखि छायांकन सुरु भएको फिल्म २०२१ मा सकिएको थियो।
जसको बजेट ५ अर्ब ५० करोड भारतीय रुपैयाँ बताइएको छ। राजामौलीका यसअघिका ‘बाहुबली’ र ‘मगाधिरा’ चर्चित फिल्म हुन्। ‘आरआरआर’ बाहेक केही हलमा नेपाली फिल्म ‘चिसो एष्ट्रेु’ बलिउड फिल्म ‘बच्चन पाण्डे’ र ‘द कश्मीर फाइल्स’ पनि प्रदर्शन भइरहेका छन् ।