हाम्रो पार्टी फैलिँदै छ, बैरीहरु आत्तिएका छन्: नेपाल

काठमाडौं । नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ६ महिनामा आफूहरुको जस्तो पार्टी कसैले बनाउन नसक्ने बताउनुभएको छ ।

पार्टी निकट महिलाको भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी दिनदिनै फैलिँदै गएको बताउनुभयो । ‘६ महिनाभित्र कुनै पनि पार्टीले यत्रो आकार ग्रहण गर्न सकेको छैन।

हाम्रो पार्टी दिनप्रतिदिन फैलिँदै गएको छ । हाम्रो पार्टीको विस्तार देखेर बैरीहरु आत्तिएका छन्।’ एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘उनीहरु मानसिक सन्तुलन गुमाउन थालेका छन्। जब मानसिक सन्तुलन गुम्छ तब बर्बराउन थाल्छन्।’

उहाँले एमालेले आफ्ना मन्त्रीहरु एमालेमा फर्किन लागेको भनेर कुप्रचार गरेको बताउनुभयो । ‘हाम्रा मन्त्रीहरु प्रेम आले र कृष्णकुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगेर एमाले सहभागी हुने समाचार आयो।’

उहाँले भन्नुभयो, के हो कमरेड? भनेर तारन्तर फोन आउन थाल्यो, अब त्यो भ्रम पनि छैन। हुँदै नभएको हल्ला मच्चाउने काम एमालेले गर्‍यो।’

उहाँले अहिले एमाले परित्याग गर्ने र आफ्नो पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको पनि दाबी गर्नुभयो ।

Back to top button