
विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले विगतको सरकारले ल्याएको सञ्चार प्रतिष्ठान खारेज गरेर अहिले ल्याएको विधेयक कतिको औचित्यपूर्ण छ ? भन्दै प्रश्न गर्नुभएको छ ।
आज सञ्चारमाध्यम व्यवस्था गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफलमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । विगतको सरकारले ल्याएको सञ्चार प्रतिष्ठान खारेज गरेर ल्याएको यो विधेयक कतिको औचित्यपूर्ण छ ? भन्दै उहाँले भन्नुभयो,‘अर्थमन्त्रालयबाट नै स्वीकृति प्राप्त गरेरै ल्याइएको होला, त्यसो हुँदा यो कार्यकर्ता भर्ना गर्न ल्याएको विधेयक हो, बधाई छ।’
उहाँले विधेयकमा प्रदेश सरकार छुट्टै अस्तित्व रहेकाले कानुन प्रदेशकै व्यवस्था अनुरूप हुनुपर्नेमा जोड दिँदै उहाँले बिमा तोकिए बमोजिम भनिएको बताउँदै ऐन बनेर आउँदा किटान तोकिएर आउनुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी) सांसद मोहन खड्काले विगतमा भएका काम मनोमानी हिसाबले ऐनमा व्यवस्थित नगरी नियमावली र निर्देशिका कार्यविधि बनाएको भएपनि अव्यवस्थित गतिविधिलाई नियन्त्रण गर्न सरकारले ल्याएको विधेयक राम्रो रहेको बताउनुभयो ।
आमसञ्चारलाई आफ्नो प्रदेशभित्र व्यवस्थित गर्ने सञ्चालन गर्ने र नियमन गर्ने उद्देश्यका साथ आएको विधेयक राम्रो रहेको भन्दै उहाँले यो विधेयकले विधिगत ढंगले लाग्न र व्यवस्थित गर्न खोजेको बताउनुभयो ।
उहाँले विदेशी लगानीलाई सञ्चारक्षेत्रमा बन्देज गरिनुपर्ने र स्थानीय लगानीलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिनुभयो ।