मनाङ मर्स्याङ्दी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश

दमक । मनाङ मर्स्याङ्दी क्बल झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो ।

दमक खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आजको खेलमा मनाङको जितका लागि अफिज ओलावलेले दुई गोल, रुपेश केसीले एक गोल गरे । एक गोल भने मनाङले आत्मघाती उपहार पायो ।

बागमतीका लागि विमल घिसिङ र जोमाउलले गोल गरे । खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो । खेलको १४ औं मिनेटमा मनाङका ओलावलेले गोल गरे ।

तर, मनाङको अग्रतालाई बागमतीले धेरै समय कायम रहन दिएन । खेलको २७ औँ मिनेटमा बागमतीका विमल घिसिङले गोल फर्काएर खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफ एक/एकको बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुवाती समयमा भने बागमतीले निकै आक्रमक खेल खेल्यो ।

५३ औँ मिनेटमा जमाउलले गोल गर्दै बागमतीलाई अग्रता दिलाए । तर, उसले अग्रता भने कायम राख्न सकेन । खेलको ६७ औँ मिनेटमा मनाङले आत्मघाती गोलको उपहार पायो । बल क्लियर गर्ने क्रममा बागमतीका सिलोमार्टिनले आत्मघाती गोल गरे ।

खेलको ७० औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा ओलावलेले गोल गर्दै मनाङलाई अग्रता दिलाए । खेलको ८१ औँ मिनेटमा मनाङका लागि रुपेश केसीले गोल गरे । बागमतीका गोलरक्षक मनोज प्रधानबाट रिवाउन्स भएको बललाई उनले गोलमा परिणत गरेका थिए ।

आजको खेलको म्यान अफ दि म्याच विजेता टिमका अफिज ओलावाले घोषित भए । उनले नगद दश हजार रुपैयाँ पाए । भोलीको दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाईज र पुलिस क्लब भारतबीच हुने आयोजक समितिका खेल संयोजक मोहन मगरले जानकारी दिनुभयो ।

Back to top button