
काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी हिजो काठमाडौं आइपुग्नुभएको छ । पाकिस्तान, अफगानिस्तान हुँदै नयाँ दिल्ली पुग्नुभएका विदेशमन्त्री वाङ त्यहीँबाट विशेष विमानमार्फत हिजो काठमाडौं आइपुग्नुभएको हो ।
परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुगेका विदेशमन्त्री वाङले हिजो कुनै पनि भेटघाटको कार्यक्रम गर्नुभएन । भ्रमणको दोस्रो दिन आज बिहान हाइकिङ जाने कार्यक्रम रहेको छ ।
उहाँको भ्रमणको क्रममा रुट पर्ने ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली सुरक्षामा खटिनेछन् । हाइकिङबाट फर्किएपछि वाङले समकक्षी परराष्ट्रमन्त्री खड्कासँग सिंहदरबारमा भेट गर्ने कार्यक्रम रहेको छ ।
सोही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्रमन्त्री खड्कासँग भेटपछि वाङ सिंहदरबारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जानेहुनेछ ।
साथै भ्रमणको तेस्रो दिन भोली बिहान ९ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने वाङ त्यसै दिन स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।
नेपाल भ्रमणका क्रममा वाङले काठमाडौंबाटै भर्चुअल माध्यमबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋणमा निर्माण भएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।