
सुर्खेत । कालिकोटबाट काठमाडौंका लागि छुटेको छुटेको ना ८ ख २३५६ नम्बरको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रूपले नष्ट भएको छ।
कालिकोटको जिते बजारबाट बिहान छुटे बस सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका लागि जाँदै गर्दा सुर्खेतको बराहताल गाउँपालिका–८ स्थित ओदाल तालमा पुग्दा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार गुडिरहेको बसमा आगलागी भएको हो । तार सर्ट भएर आगलागी हुँदा बस पूर्ण रूपले नष्ट भएको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको बारुणयन्त्रले आगो निभाए पनि बस पूर्णरूपले क्षती भएको छ । आगलागी भएलगत्तै बसमा सवार यात्रु झर्न भ्याएकाले मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।
‘घुम्तीमा बस मोड्ने क्रममा केही पड्किएको आवाज आयो। हत्तपत्त ह्यान्ड ब्रेक लगाएँ र झरेर हेर्दा गेयरबक्स र इन्जिनको बीचमा सानो आगो बलेको थियो’, बस चालक सुरेन्द्र थापाले भन्नुभयो,‘यात्रुहरू सबै झारेर आगो निभाउन खोजेपनि आगोले एकैचोटि माथिसम्म भेट्यो।’