विकासको जिम्मेवारी स्थानीयलाई नै दिनुपर्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताउनुभएको छ।

आज ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा देउवाले स्थानीयलाई जिम्मा दिएका काम राम्रो भएकाले विकास निर्माणको काम उनीहरूलाई नै दिनुपर्नेमा जोड दिनुभयो। उहाँले विकास निर्माणको काम स्थानीय सरकार दिएका अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी भएको बताउनुभयो।

प्रधानमन्त्री देउवले भन्नुभयो‚ ‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक छ। अहिलेसम्म राम्रो काम भएको पनि छ।’

उहाँले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पुर्‍याएको थियो। उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्याबसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो।

पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो। यो मन्दिर झण्डै ३०० वर्षअघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो।

Back to top button