स्थानीयको आक्रमणबाट सांसद प्रमोद साह घाइते

सर्लाही । ईश्वरपुर नगरपालिका–६, बयलवासमा आज बिहान क्लबको भवन निर्माणका विषयमा झडप हुँदा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नं १ का सांसद प्रमोद साह गम्भीर घाइते हुनुभएको छ ।

घाइते साहको बयलवास एक अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ। टाउकोमा चोट लागेर गम्भीर घाइते साहलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको हो। झडपमा परेर साहका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक असई विनोदप्रसाद यादव पनि घाइते हुनुभएको छ ।

यस्तै, सांसद साहको गाडीमा पनि स्थानीयले तोडफोड गरेका छनभने केही मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएको छ। बयलवास बजार क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ। इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी जनकराज ढुङ्गानाले अवस्था सामान्य भइसकेको बताउनुभयो।

फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत बयलवास बजार क्षेत्रमा रहेको फूलजोर युवा क्लबको भवन निर्माणको विषयमा सांसद साह पक्ष र स्थानीयवासीबीच विवाद चल्दै आएको थियो। सडक विस्तारका क्रममा क्लबको भवन भत्किएपछि स्थानीयवासीले पुनः त्यहीँ भवन बनाउनुपर्ने माग गरिरहेका थिए भने सांसद साहले भने भवन अब अन्यत्र सार्नुपर्ने अडान लिनुभएको थियो।

सांसद साहले भवन अन्यत्र सार्नुपर्ने मागसहित आज बिहानै बयलवास बजार क्षेत्रमा जसपाका कार्यकर्ताले प्रदर्शन गर्न खोजेपछि स्थानीयले प्रतिकार गर्दा झडप भएको हो।

Back to top button