छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर । झापाको बिर्तामोड स्थित एक विद्यालयका शिक्षक १३ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– १० का अन्दाजी ५० वर्षीय श्रीप्रसाद सिवाकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हल्दिबारी गाउँपालिका – १ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत छात्रालाई हिजो दिउँसो विद्यालयभित्रै शिक्षक सिवाकोटीले यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेको छ ।

स्थानीयका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा सकेर घर जाँदै गरेकी छात्रालाई शिक्षक सिवाकोटीले यौनजन्य दुर्व्यवहार गर्नुभएको थियो। यौन दुर्व्यवहारमा परेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षकसहित अभिभावकलाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।

आक्रोशित स्थानीयले दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीले हिजो बेलुका नै शिक्षक सिवाकोटीलाई उहाँको घरबाटै पक्राउ गरेको हो ।

उहाँलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ। पीडित बालिकाको परिवारजनबाट किटानी जाहेरी परेपछि घटनाको विषयमा थप जानकारी गराउने प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभएको हो ।

Back to top button