एमालेलाई देशभरबाटै हराएर देखाउँछौँ : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले अबको चुनावमा केपी ओली नेतृत्वको नेकपा एमालेलाई हराएर देखाइदिने बताउनुभएको छ ।

पार्टीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एमालेलाई केन्द्र, प्रदेश सरकारबाट आफूहरूले नै धुलो चटाएर हटाएको समेत बताउनुभयो।

यति गर्दा पनि ओली नसुध्रिएकाले अब गुल्मी जिल्लाबाट पनि धुलो चटाइदिएपछि चुरीफुरी हराउने अध्यक्ष नेपालले बताउनुभयो। ओलीलाई बालुवाटारबाट बाल्कोटसम्म पुर्‍याउँदासमेत उनको चुरीफुरी अझै नहराएकाले आगामी निर्वाचनमा देशभरबाटै हराएर देखाइदिने समेत उहाँले दाबी गर्नुभयो।

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई गुल्मी जिल्लाबाटै हराउनका लागि शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई जिल्लामै खटेर काम गर्न निर्देशन दिनुभयो । ‘जसरी राजतन्त्रका निम्ति आन्दोलनमा उत्रिएका थियौं’ उहाँले भन्नुभयो,‘अब ओली प्रवृत्तिका निम्ति सबै शक्ति एक भएर अगाडि बढनेछौं।’

अध्यक्ष नेपालले अहिले ७ वटै प्रदेशमा ओली नेतृत्वको एमाले पार्टीमा सूर्य ग्रहण लागिसकेको समेत भन्नुभयो । उहाँले एमाले अध्यक्ष ओलीको अंहकारी सोचका कारण पार्टीमा सूर्य ग्रहण लागेको सुनाउनुभयो ।

ओलीले नेतृत्व गरेको पार्टीमा विचार, सिद्धान्त केही नभई ओलीका आसेपासेहरु मात्र रहेको आरोप लगाउनुभयो। अध्यक्ष नेपालले एमाले कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने जिकीर गर्नुभयो।

Back to top button