
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ ।
आज बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम रहेको छ ।
मन्त्री वाङले हिजो प्रधानमन्त्री शेरबारहदुर देउवासँग शिष्टाचार भेटवार्ता गरे। भेटमा द्विपक्षीय हितका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रलायले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वाङले चिनियाँ प्रधानमन्त्री ली खस्याङको सन्देश प्रधानमन्त्री देउवालाई सुनाउनु भएको थियो ।
भेटमा प्रधानमन्त्री देउवाले कोरोना खोपलगायत चिनियाँ सहयोगका लागि धन्यवाद दिनुभएको थियो । भेटवार्ता लगत्तै प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा भएको छ। वाङले पोखरा विमानस्थले साँचो नेपाल सरकारलाई हस्तान्तरण गर्नु भएको छ ।
प्रधानमन्त्री देउवासँगको भेट पहिले मन्त्री वाङ र समकक्षी नारायण खड्काबीच प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको थियो । भेट लगत्तै दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर गरेका छन ।
आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन –नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षितरुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी, चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र तथा चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो।
चीन र नेपालका विदेशमन्त्रीको उपस्थितिमा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी तथा नेपालमा चीन–नेपाल अन्तरदेशीय रेल–वे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजनामा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गर्नु भएको छ ।
नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की र राजदूत हउले हस्ताक्षर गरेका थिए। यस्तै सुरक्षितरुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा पशुपन्छी विकास सचिव निरु दाहाल र चिनियाँ राजदूतले दस्तखत गर्नुभयो।
परराष्ट्रमन्त्री डा खड्काको निमन्त्रणामा शुक्रबार तीनदिने भ्रमणमा नेपाल आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ आज दिउँसो ३ बजे स्वदेश फर्कने कार्यक्रम छ।