पदकै लागि बादलहरू एमालेमा गए : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाउनुभएको छ ।

नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आज आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

“बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो,” मन्त्री पौडेलले भन्नुभयो, “पार्टीलाई धोका दिइ पदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सराप्दै हुनुहुन्छ ।”

आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुद हुनपर्ने बताउनुभयो । “आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरा पहिलो हो,” मन्त्री पौडेलले भन्नुभयो, “आफ्नो पार्टी मजबुद भएपछि अन्य दल गठबन्धन गर्न आउँछन् ।”

यस्तै, देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न गठबन्धन गरेको बताउनुभयो । माओवादीको लामो संघर्षपछि आएको परिवर्तनमा अन्य पार्टीले रजाइँ गरेको बताउँदै पार्टीको पुनर्गठनमा लागेको उहाँले बताउनुभयो ।

माओवादीले केन्द्रीय महाधिवेशनपछि गैरभौगलिक सहित १० प्रदेशमा प्रशिक्षण सकिसकेको भन्दै पार्टीले कार्यसम्पादनका लागि कमाण्ड तयार परेको उल्लेख गर्नुभयो । प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट विक्रम अचार्यसहितका युवा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

Back to top button