उदयपुरको कटारीमा बोलेरो दुर्घटना हुदाँ एकको मृत्यु,१२ घाइते दुईको अवस्था गम्भीर

उदयपुर । शिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–११ हर्देनीमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । ओखलढुङ्गाबाट कटारीतर्फ आउँदै गरेको प्रदेश १–०७–००१ ज ००११ नम्बरको बलेरो फोर्स गाडी ‘ब्रेक फेल’ भएपछि आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले जानकारी दिनुभयो।

उहाँका अनुसार आइतबार दिउँसो २ बजेतिर दुर्घटना हुँदा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–४ च्यानमका ५४ वर्षीय खेमबहादुर कार्कीको मृत्यु भएको हो । दुर्घटनामा परेर गाडी सडकबाट पाँच मिटर तल झर्दा गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा राति ११ः३० बजेतिर काठमाडौंमा मृत्यु भएको एसपी खतिवडाले बताउनुभयो ।

दुर्घटनामा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ का २४ वर्षीय एकराज दाहाल र चिसङखुगढी गाउँपालिका–८ की ३३ वर्षीया यशोदा कार्की गम्भीर घाइते हनु भएके छ । ३२ वर्षीय चूणामणि अधिकारी, फिजितिम्बा गाउँपालिका–९ का ३६ वर्षीय निमा तामाङ, शिद्धिचरण नगरपालिका–७ की २५ वर्षीया एक्काकुमारी दाहाल, ३४ वर्षीय रोशन राई, ३५ वर्षीया टीकाकुमारी श्रेष्ठ र मोलुङ–२ की ३० वर्षीया पार्वता पोखरेल सामान्य घाइते भएका छन् ।

त्यस्तै शिद्धिचरण–७ का ३२ वर्षीय पिताम्बार दाहाल, २७ वर्षीय घनश्याम राई, सोलुखुम्बुको नेचासल्यान–५ का ३८ वर्षीय प्रेमकुमार राई र गाडी चालक ओखलढुङ्गाको शिद्धिचरण नगरपालिका–१ का २४ वर्षीय सञ्जिव घिमिरे घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button