माधव नेपालको अभिव्यक्तिप्रति पूर्वप्रधानसेनापतिको आपत्ति

काठमाडौं । नेपाली सेनाका पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले सत्तारुढ नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । नेपालले आज नेकपा एसनिकट समाजवादी प्रेस संगठनको विस्तारित बैठक समापनका अवसरमा बोल्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापतिसँग धेरैपटक बसेर गोप्य कुराकानी गरेको र बंगलादेशको मोडलमा चुनाव गराएर सत्ता कब्जा गर्ने षडयन्त्र गरेको सूचना सरकारी एजेन्सीहरुबाट आफूहरुले थाहा पाएको बताउनुभएको थियो । तत्कालिन प्रधान सेनापति थापाले भने नेपालको भनाइ निराधार र आपत्तिजनक रहेको प्रतिक्रिया दिनुभएको छ ।

एक अनलाइनलाई थापाले भन्नुभएको छ, ‘मेरो स्वभाव पनि सबैलाई थाहा छ । उहाँले जुन अभिव्यक्ति दिनुभएको छ त्यो टोटल्ली फल्स छ । यस्ता कुराको कुनै जस्टिफिकेसन छैन । राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूसँग म त्यसरी कहिल्यै बसिँन र मलाई तत्कालीन सरकार वा प्रधानमन्त्रीले कहिल्यै त्यसो भन्नु पनि भएन । यो कुरा किन र कुन उद्देश्यले आएको हो जिम्मेवार व्यक्तिहरुले नेपाली सेनालाई यसरी विवादमा तान्न हुँदैन ।’

 

Back to top button