प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने हुनुभएको छ । भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको हो । प्रधानमन्त्री देउवासँगै भ्रमणमा उहाँकी पत्नी डा. आरजु देउवा पनि रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणको लागि प्रधानमन्त्री देउवा चैत १८ गते त्यसतर्फ प्रस्थान गर्नुहुने छ । पाँचौं पटक प्रधानमन्त्री हुनुभएपछि देउवाले गर्न लाग्नुभएको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।

भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते द्विपक्षीय वार्ता हुनेछ । सोही दिन उहाँले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुहुने छ ।

भारतका विदेशमन्त्री एस जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नुुहुने छ । प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा कार्यक्रमहरु सकेपछि उत्तर प्रदेशको वराणासी भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

‘भारत र नेपालबीच सदियौं पुरानो र विशेष मित्रता र सहयोगको सम्बन्ध रहेको छ । हालका वर्षहरूमा सहयोगका क्षेत्रमा साझेदारी उल्लेखनीय वृद्धि भएको छ । आगामी भ्रमणले दुई पक्षलाई यो व्यापक साझेदारीको समीक्षा गर्ने र दुई देशका जनताको हितमा अघि बढ्न अवसर प्रदान गर्नेछ,’ भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Back to top button