मोरङका कुन पालिकामा कति मतदाता थपिए ? (सूची)

विराटनगर । देशभरीकै सबैभन्दा बढी मतदाता भएको जिल्ला मोरङमा यसपटक अघिल्लो वर्षको तुलनामा १ लाख ४१ हजार ७ सय २४ जना मतदाता थपिएका छन् ।

जसमध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिकामा अघिल्लो वर्षको तुलनामा १९ हजार ३ सय ८१ र दोस्रो नम्बरमा सुन्दरहरैंचा नगरपालिकामा १७ हजार ३ सय ८४ जना मतदाता नयाँ थप भएका छन् ।

निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याँकअनुसार मतदाताको संख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना पुगेका छन् । २०७४ सालको निर्वाचनमा विराटनगरमा मतदाताको संख्या १ लाख १३ हजार ७ सय ६१ थियो ।

नयाँ मतदाताको संख्या थप भएसँगै राजनीतिक जोड घटाउमा पनि पुनः परिभाषित गर्नुपर्ने देखिन्छ । नयाँ मतदाताको रुझानले यस पटकको चुनावी परिणाममा अदल बदल गर्नसक्ने पर्याप्त संख्या देखिएको छ । तथ्याँकअनुसार मोरङको उर्लाबारी नगरपालिकामा विगतको भन्दा ९ हजार ९ सय ८४ थप भइ मतदाताको संख्या ४४ हजार २ सय ७२ पुगेको छ ।

यस्तै कटहरी गाउँपालिकामा ४ हजार ६ सय ३३ थप भइ २६ हजार ६३, कानेपोखरी गाउँपालिकामा ८ हजार ९ सय ८९ जना थप भई ३४ हजार ४५ जना पुगेका छन् ।

यस्तै, आयोगले दिएको तथ्याँकअनुसार केराबारीमा ६ हजार १ जना थप भइ २३ हजार ९ सय ९०, ग्रामथान गाउँपालिकामा ४ हजार ६ सय ३६ जना थप भई २५ हजार ९ सय ४२ जना मतदाता पुगेका छन् ।

यस्तै जहदा गाउँपालिकामा ४ हजार २ सय ४८ जना थप भएर मतदाता संख्या २५ हजार ७ सय १५ पुगेको छ । धनपाल थान गाउँपालिकामा ४ हजार ४ सय ५६ जना थप भइ २५ हजार ७ सय ७६, पथरी शनिश्चरेमा १० हजार ४ सय ८० जना नयाँ थप भई ५१ हजार ३ सय ३० जना, बुढीगंगा गाउँपालिकामा ५ हजार २ सय ७ जना थप भई २८ हजार १ सय ५९ जना मतदाता संख्या पुगेको छ ।

त्यसैगरी बेलबारी नगरपालिकामा १४ हजार २ सय १० जना नयाँ थप भएका छन् । बेलबारीको अब मतदाताको संख्या ५७ हजार २ सय ९ पुगेको छ ।

यस्तै उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकामा ५ हजार ९ सय २५ जना थप भई २४ हजार ९३, रंगेली नगरपालिकामा ६ हजार १ सय ८६ जना थप भई ३७ हजार १८७ जना, रतुवामाई नगरपालिकामा ७ हजार ३ सय ६७ जना थप भई ४३ हजार ५ सय ७४ जना मतदाता संख्या पुगेको छ ।

यस्तै लेटाङ नगरपालिकामा ७ हजार २ जना थप भई २८ हजार ४ सय २१ र सुनवर्षी नगरपालिकामा ५ हजार ६ सय ३५ जना नयाँ मतदाता थप भइ ३४ हजार ५ सय ४९ जना पुगेका छन् ।

Back to top button