टि–२० श्रृंखला: पिएनजीविरुद्ध नेपाल १५ रनले विजयी

काठमाडौं । त्रिकोणात्मक टि–२० क्रिकेट श्रृंखलामा नेपालले विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध १५ रनको जित निकालेको हो।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजी ४ बल बाँकी छँदै १ सय ६८ रनमा अलआउट भयो। उसका नोर्मान भानुवाले सर्वाधिक ५२ रनको योगदान गर्नुभयो । सेसे बाउले ३०, चार्ल्स अमिनीले २२, लेगा साएकाले २१ रनको योगदान गर्नुभएको थियो ।

नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३–३, अविनाश बोहराले २, र सोमपाल कामीले एक विकेट खसाल्नुभयो।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले घरेलु मैदानमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो। उसका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाउनुभएको थियो ।

रोहित पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भुर्तेलले २०, करण केसीले १४, कुशल मल्लले ११ रनको योगदान गर्दा सोमपाल कामी एक रनमा आउट हुनुभएको थियो । श्रृंखलामा नेपाल, पिएनजी र मलेसियाको सहभागिता रहेको छ ।

अब नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। श्रृंखलाअन्तर्गत नेपालले पिएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ ।

Back to top button