मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ

जनकपुरधाम। प्रहरीले मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना चुरे अभियानकर्तालाई पक्राउ गरेको छ ।

चुरे तथा वन जङ्गल संरक्षण अभियानीहरुले विभिन्न माग राख्दै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न खोज्दा २७ महिला र १२ पुरूष गरी ३९ जना अभियन्ताहरुलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ ।

अभियन्ताहरुले चुरे क्षेत्रको जग्गा भूमिहीनका नाउँमा व्यक्तिले कब्जा गरेर बिक्री गरेको विषयमा छानबिनका लागि समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न दवाव दिएका थिए । त्यस्तै सिराहा जिल्लाको मिर्चैया नगरपालिकास्थित मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको भन्दै विरोध प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए ।

अभियानका संयोजक सुनिलकुमार यादवले चुरे वन विनाश र सिराहा वन कार्यालयको अनियमितता, मारुती सिमेन्टले कब्जा गरेका जग्गा फिर्ता र मधेशका भूमिहिनहरुलाई भूमिको अधिकार दिनुपर्ने पटकपटक गरेको प्रतिवद्धता प्रदेश सरकारले कार्यान्वयन नगरेको कारण बाध्य भएर आन्दोलनमा उत्रेको बताउनु भयो । ।

निषेधित क्षेत्रमा जुलुस, बन्द, हडताल तथा नाराबाजी गर्न नमिल्ने भएकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

स्थानीय रेल्वे स्टेशनबाट नाराबाजी सहित अभियानीहरुको निकालेको जुलुस जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गर्न पुगेका थिए ।

Back to top button