
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पहिलोपटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिदेखि बस्ने पहिलो कार्यकारिणी समितिको बैठकमा स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल हुनेछ ।
‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, त्यो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समयसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ’ सदस्य केशव झाले भन्नुभयो । उहाँका अनुसार देशभरबाट रिर्पोट संकलन गरेर आएका २८ नेताले बैठकमा धारणा राख्नेछन् ।
जनता समाजवादी पार्टीबाट अलग हुँदा ३१ जना कार्यकारिणी सदस्य भए पनि लोसपासँग अहिले २८ जना मात्रै बाँकी छन् । बृषेशचन्द्र लालले तराई–मधेस लोकतान्त्रिक पार्टी ब्युँत्याएर अलग्गै राजनीति गरिरहनुभएको छ । यस्तै राजकुमार लेखी एमाले प्रवेश गरिसक्नुभएको छ ।
जेलमा रहनुभएका रेशमलाल चौधरी बैठकमा आउने अवस्था नभएकाले भोलिदेखि सुरु हुने बैठकमा २८ जना मात्रै सहभागी हुनेछन् । चौधरीको निर्देशनमा उहाँकी श्रीमती रन्जिता श्रेष्ठले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता गरिसक्नुभएकोे छ ।