राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८ हुँदै

काठमाडौं । लोक दोहोरी गीत सङ्गीतको प्रवर्धनका लागि १६ चैतबाट काठमाडौँको भृकुटी मण्डपमा ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८ हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गर्ने प्रतियोगिताको तयारी तिब्र गतिमा भइरहेको बताइएको छ । प्रतिष्ठानले पत्रकार सम्मेलन गरि ‘प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाका करिब ७० वटा टोलीले सहभागिता जनाउने जनाएको छ ।

१६ चैतबाट २० चैतसम्म काठमाडौँको भृकुटी मण्डपस्थित बगैँचामा प्रतियोगिता हुने भएको हो । पहिलो दिन दिउँसो उद्घाटन सत्र १ बजेबाट सुरु हुने र उद्घाटनपछि नै प्रतिस्पर्धा सुरु हुने बताइएको छ ।

प्रतियोगिताका बाँकी तीन दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म जारी रहने छ । प्रतियोगितामा दर्शकलाई यसपटक निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोकदोहोरीतर्फको राष्ट्रिय रिनङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै द्वितीय हुने टोलीले ट्रफी, पदक र १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँसहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिने छ । यस्तै उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुशासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यसपटक यो प्रतियोगितालाई भव्य र सभ्य बनाउन उच्छृङ्खल तथा अश्लील अर्थ लाग्ने शब्दहरू गायनको क्रममा प्रयोग गर्न रोक लगाइएको प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताउनुभएको छ ।

Back to top button