
निशान्त ढुङ्गाना,
विराटनगर । लोडसेडिङका कारण उत्पादनमा ६० प्रतिशतसम्म गिरावट आएको उद्योगी व्यवसायीले गुनासो गरेका छन् । मोरङका उद्योगीहरूले १२ घण्टासम्मको लोडसेडिङका कारण उत्पादनमा भारीमात्रामा गिरावट आएको बताएका हुन् ।
चैत ८ गतेदेखि नियमित १२ घण्टा सम्म बिजुली कटौती हुँदा उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था आएको मोरङका उद्योगी व्यवसायीको गुनासो छ । नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ तथा उद्योग संगठन मोरङले आज संयुक्त पत्रकार सम्मेलन गर्दै सहजरुपमा उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरेका छन् ।
२ वर्षदेखि कोरोनाको महामारीले थला परेको उद्योग व्यवसाय क्षेत्र त्यसमाथि थपिएका अनेकन समस्याले आक्रान्त भएको उनीहरुको गुनासो छ ।
लामोसमय कोरोनाको महामारी, त्यसपछि उत्पन्न वित्तीय सङ्कट तथा बढ्दो ब्याजदरले मरणासन्न अवस्थामा पुर्याएको बेला बिनासूचना लामो समयसम्म गरिएको लोडसेडिङले उदोग धन्दा चलाउनै नसक्ने अवस्था सिर्जना भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताउनुभयो ।
‘ऊर्जा मन्त्री तथा बिद्युत प्राधिकरणका कार्यकारी निर्देशकले नै उद्योग–उद्योगमै आएर बिद्युत दिन्छौ लगानी बढाउनुहोस् भन्दै हौसला दिएको स्मरण गर्दै उहाँले भन्नुभयो,‘तर यस्तो संकटको बेला भने फोन समेत उठ्दैन ।’
‘पिक आवर’मा बिद्युत कटौती गर्दा मजदुर समेत मारमा परेको उनीहरूले उद्योगी व्यवसायीको गुनासो छ । बिद्युत कटौती भएपछि मजदुर काम विहीन हुन पुग्दा उनीहरूको चुल्हो समेत बल्न छाड्ने उनीहरूको भनाई छ ।
रातको १२ बजे देखी एक्कासी युट्रन भई बिद्युत आपूर्ती बन्द हुने गरेको भन्दै सरकार गैह्र जिम्मेवार देखिएको नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले आरोप लगाउनुभयो ।
‘हाम्रो उत्पादनमा ६० प्रतिशत सम्म गिरावट आएको छ,’ उहाँले भन्नुभयो, ‘राज्यले ध्यान नदिने हो भने हामी अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्दैनौं ।’ खाध्यन्नलगायतका दैनिक उपभोग्य बस्तु समेत अन्य देशबाटै खरिद गर्नु पर्ने अवस्था आएको उहाँको भनाइ छ ।
उद्योगलाई आवश्यक बिद्युत उपलब्ध गराउन समेत उद्योगी व्यवसायीको माग छ । उनीहरूले ३८ रुपैयाँ प्रति युनिटले बिजुली किन्न नसक्ने समेत बताएका छन् ।
चैत्र १० गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा बिजुलीको भाउ निकै बढेकाले नेपालको मागलाई धान्न महँगोमा बिजुली किन्न लागिएको बताउनुभएको थियो । तर त्यति शुल्क तिरेर उद्योग चलाउन नसक्ने भन्दै उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले सहज र सरल हिसाबले सरकारले उद्योगहरुलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा उद्योगीहरुले लोडसेडिङको तालिका समेत उपलब्ध गराउन माग गरेका छन् । दैनिक ६ घण्टासम्म लोडसेडिङको मार मुस्किलले थेग्न सकिएपनि त्यो भन्दा माथिको थेग्न नसक्ने भन्दै प्राधिकरणसँग तालिका माग गरेका हुन् ।