
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रशासन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।
कोइरालासँगै तत्कालीन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, सह–प्राध्यापकहरू केशव घिमिरे र राजेश्वर न्यौपाने, पुस्तकालय सह–प्रशासक इन्दिरा घिमिरे र प्रा.डा. टेकनाथ ढकालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको हो।
उहाँहरुमाथि उप–प्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरेको अख्तियारको आरोप छ।
सक्षम र उत्कृष्ट उम्मेदवारहरूलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता भएको, प्राप्ताङ्क केरमेट गरेको, अङ्क थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमा समेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको पाइएको अख्तियारको ठहर छ।
उहाँहरुविरुद्ध तीन महिनादेखि एक बर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।