मलेसियासँग पपुवा न्युगिनी ८ रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्युगिनी (पीएनजी)लाई ८ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो। मलेसियाका लागि कप्तान अहमद फैज र विरानदीप सिंहले अर्धशतक बनाएका छन् ।

फैजले ३७ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५६ रन जोडे भने सिंह ५९ रनमा नटआउट रहे। ५२ बलको सामना गरेका उनले २ चौका र २ छक्का हिर्काए। यस्तै सइद अजिजले ४७ रनको योगदान दिए।

बलिङतर्फ पीएनजीका नोरमान भानुले २ र नोसाइना पोखनाले एक विकेट लिए। १८१ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको पीएनजीले १९ ओभर ३ बलमा अलआउट हुँदै १७२ रन मात्रै जोड्न सक्यो। उसका लागि टोनी उराले ५६, नोरमान भानुले ४५, सिमोन अताइले १७ र अस्साद भालाले ११ रन बनाए पनि जीतका लागि पर्याप्त हुन सकेन।

मलेसियाका शरविन मुनिएन्डीले चार तथा मुहम्मद वाफिक र पवनदीप सिंहले समान तीन विकेट लिए । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल, पीएनजी र मलेसिया सहभागी छन्। सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा पीएनजी सोमबार नेपालसँग पराजित भएको थियो।

Back to top button