
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ आजदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ ।
मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको हो । विगतमा ११ अङ्क नम्बर रहेको टोलफ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अङ्कको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।
कल सेन्टरमा ९ जना जनशक्ति खटाइएको छ । आगामी स्थानीय तहको निर्वाचनसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ ।
निःशुल्क टोल फ्रि नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले कल सेन्टरमा सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासालाई शिष्ट भाषामा सम्बोधन गर्न निर्देशन दिनुभएको छ ।
निर्वाचनसँग सरोकार राख्ने व्यक्ति वा संस्थाले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गर्न सकोस् भन्ने हेतुले आयोगले विगतदेखि नै निर्वाचनका बेला कल सेन्टर सञ्चालन गर्दै आएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्माले कल सेन्टरमा खटिएका कर्मचारीलाइ सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासोलाई बुझिने भाषामा सरलरुपमा सम्बोधन गर्न सुझाव दिनुभयो ।