
भक्तपुर । भक्तपुरको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो तरकारी बजार सञ्चालनमा आएको छ । तरकारी बजारको भोली नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले तरकारी बजार सञ्चालनमा ल्याउनु भएको हो । सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक, अरनिको राजमार्ग नजिकै रहेको ५० रोपनी जग्गामा सञ्चालनमा ल्याइएको तरकारी बजारको नाम सूर्यविनायक हरित कृषि थोक बजार राखिएको छ ।
आधुनिक रूपमा सञ्चालन गरिएको बजारमा सवारीसाधन पनि एकतर्फी रूपमा सञ्चालन गर्ने व्यवस्थान गर्न दुईवटा द्वार राखिएको छ । कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरूको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको छ । कृषि बजारभित्रसम्म तरकारी पुर्याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
सूर्यविनायक हरित तथा कृषि थोक बजारमा आज पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईले जे गर्छु स्वदेशमै गर्छु भन्ने उद्देश्यका साथ तरकारी बजार सञ्चालनमा ल्याएको बताउनुभएको छ । २ अर्ब रुपैयाँ भन्दा धेरै लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याएको उहाँले बताउनुभएको छ ।
हाल २२ सय स्टलमा प्रत्यक्ष ४४ सय जनाले रोजगारी पाउने र १० हजार भन्दा धेरै किसान अप्रत्यक्ष फाइदा लिनसक्ने प्रसाईंको विश्वास छ । केही समय अगाडी नै बजार सञ्चालनमा आएपनि कोरोनाको कारणले औपचारीक उद्घाटन हुन सकेको थिएन ।
अब भने वातावरण सहज हुँदै गएपछि भोली एमालेका अध्यक्ष केपी शर्मा ओलीद्धारा बजारको उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रसाईंले जानकारी दिनुभयो । बिचौलियाको अन्त्य गर्न र किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको उहाँको भनाई छ ।