
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर र शुल्कमध्ये समग्रमा प्रतिलिटर १५ रुपैयाँ घटाउन प्रस्ताव गरेको छ ।
मासिक नोक्सानी करिब १० अर्ब रुपैयाँ पुगेको जनाउँदै निगमले एलपी ग्यासमा समेत प्रतिसिलिन्डर २ सय रुपैयाँसम्म शुल्क मिनाहा गर्न प्रस्ताव गरेको छ ।
युक्रेनमाथि रुसको आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अकासिएको छ । लगातार मूल्य बढ्दा चालु आर्थिक वर्षको फागुनसम्म निगमको घाटा २८ अर्ब रुपैयाँ पुगिसकेको छ । इन्धनको मूल्यमा भइरहेको अचाक्ली वृद्धिले उपभोक्ता मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ ।
हाल सरकारले प्रतिलिटर पेट्रोलमा ६० रुपैयाँ ११ पैसा, डिजेलमा ४२ रुपैयाँ ७८ पैसा, एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ ३० पैसा र मट्टीतेलमा १३ रुपैयाँ ४१ पैसा राजस्व उठाइरहेको छ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना (हाल पूर्वाधार विकास) का नाममा १५ रुपैयाँ कर उठाइरहेको छ । तर इन्धनमा लाग्दै आएको कर घटाएर राहत दिन सरकार तयार छैन ।