भरतपुर महानगर हामी छाड्दैनौंः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरमा माओवादीको दाबी कायमै रहेको बताउनुभएको छ ।

चितवनका कांग्रेसले चुनावी गठबन्धनको नाममा भरतपुर महानगरपालिकाको मेयर छोड्न नसक्ने बताइरहेका बेला प्रचण्डले भरतपुरमा आफूहरुले नछाड्ने बताउनुभएको हो ।

उहाँले भोलि बस्ने गठबन्धनको बैठकले महानगरको विषयमा तालमेलको निर्णय गर्ने जानकारी दिँदै भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रको नै दावी रहने बताउनुभएको हो ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले महानगर र उपमहानगरमा केन्द्रबाट तालमेल गर्ने विषयमा छलफल अघि बढेको बताउनुभएको छ । कांग्रेसले निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरेकोे सकारात्मक भएको उहाँले बताउनुभयो ।

उहाँले कुन पालिकामा कसलाई समर्थन गर्ने भन्ने बिषय छलफल गरेर टुङ्गिने भन्दै महानगरपालिका र उपमहानगरपालिकाको बिषय भोलि बस्ने गठबन्धनको बैठकले सम्भवत टुङ्ग्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘तालमेलकै निर्णय हुन्छ। भरतपुर चितवनमा हाम्रो दाबी छँदैछ।’ प्रचण्ड विभिन्न उद्घाटन र शिलान्यासका कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएको हो ।

Back to top button