
झापा । झापाको भद्रपुरस्थित रुद्र–गौरी–श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा ४ विधामा ५ जना पुरस्कृत हुने भएका छन् । प्रतिष्ठानले यस वर्ष ५ लाख रुपैयाँ पुरस्कार थप गरी ४ विधामा ५ जनालाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनुभयो ।
प्रतिष्ठानले ४ वैशाखमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्ने जनाएको छ । अध्यक्ष ओलीका अनुसार यस वर्ष ५ लाख रुपैयाँको एउटा पुरस्कार थप गरेको छ ।
प्रतिष्ठानले २०६७ सालदेखि कृषि, साहित्य-पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै आएकोमा यस वर्ष ५ लाख रुपैयाँ राशिको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ थप गरेको हो । यो पुरस्कारबाट हिमालयशम्शेर जबरा पुरस्कृत हुने हुनुभएको छ ।
नेपालमा पहिलो पटक विनिमय दरको व्यवस्था गरी विदेशी मुद्राको प्रचलनलाई निरुत्साहन गरी नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउन उल्लेख्य भूमिका निर्वाह गरेको र नेपालमा स्वतन्त्र अर्थतन्त्रको जग बसाउन योगदान पुर्याएको भन्दै उहाँलाई यो पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
यस्तै, रुद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार ललितपुरस्थित ‘सुभद्रा–मदन फाउण्डेसन’ र ‘चन्द्रागिरि मेसिनरी उद्योग’लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कार राशि १ लाख १ हजार १११ रुपैयाँ रहेको छ ।
कृषि क्षेत्रको व्यवसायीक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरूलाई पुरस्कृत गर्न लागिएको हो । यसैगरी गौरादेवी स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार काठमाडौं निवासी युवती खड्का केसीलाई प्रदान गरिने भएको छ ।
उहाँलाई अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकलाई पुनर्स्थापना तथा सेवा, महिलाहरूको आर्थिक सशक्तीकरणमा योगदानबापत १ लाख १ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गर्न लागिएको हो ।
अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार यस वर्ष विगत साढे ४ दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील मोरङको विराटनगरका साहित्यकार विवश पोखरेललाई प्रदान गरिने अध्यक्ष ओलीले बताउनुभयो ।
पुरस्कार राशी १ लाख १ हजार १११ रुपैयाँ रहेको छ । ‘रूद्र–गौरी–श्री–अम्बिका ओली प्रतिष्ठान’ समाजका अनुकरणीय कार्यहरूको प्रवर्धन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो ।