बुद्ध धर्म बिमस्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो हो: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध धर्म बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रलाई जोड्ने बलियो धागो भएको बताउनुभएको छ ।

श्रीलंकाको राजधानी कोलम्बोमा भएको बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई आज भर्चुअल सम्बोधन गर्दै उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जोड्ने बुद्ध सर्किटलाई छिटो सञ्चालन गर्न आग्रहसमेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य राष्ट्रहरुले श्रोत–शक्ति जुटाएर बिमस्टेकलाई नयाँ जीवन दिनुपर्ने बताउनुभयो ।

कोरोना महामारीबाट उत्पन्न आर्थिक समस्यालाई सम्बोधन गर्न बिमस्टेकले भूमिका निर्वाह गर्नुपर्ने जनाउँदै उहाँले दीर्घकालिन आर्थिक र सामाजिक विकासको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो । समावेशी रिकभरी योजना अवलम्वन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो।

भ्याक्सिनमा पहुँच, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षा योजनाको विस्तारसँगै संरचनात्मक सुधार र भौतिक र मानव पुँजीमा गुणस्तरीय लगानी गनुपर्ने उहाँले जनाउनुभयो ।

बिमस्टेक सदस्य राष्ट्रहरूले व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, जलवायु परिवर्तन र जनता–जनताबीचको सम्पर्क जस्ता सहयोगका क्षेत्रमा सामूहिक रूपमा कदम चाल्नुपर्ने समेत उहाँले बताउनुभयो ।

Back to top button