अधुरा काम पुरा गर्न बजेट खोज्दै सिंहदरबार पुग्यो मुख्यमन्त्रीको टोली

विराटनगर । संघीय सरकारबाट हस्तान्तरण भएका आयोजनाको काममा बजेट अभाव भएको भन्दै प्रदेश १ सरकारको टोली सिंहदरबार पुगेको छ ।

मुख्यमन्त्री राजेन्द्र राईको नेतृत्वमा ४ सदस्यीय टोली सिंहदरबार मगलवार काठमाडौं पुगेको हो ।

टोलीमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, प्रमुख सचिव डा.रामप्रसाद घिमिरे, अर्थ सचिव सुमन दाहाल हुनुहुन्छ ।
टोलीले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर आफ्ना समस्या राखेका छन् ।

भेटमा प्रधानमन्त्री र अर्थमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएका प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनु भयो । संघले ४० वटा बहुवर्षे आयोजना प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको थियो ।

सडक, सिँचाइ, खानेपानी, पुल, अस्पताल लगायतका आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरिएका थिए ।

‘धेरै योजनाहरू संघीय सरकारले आफैं ठेक्का लगाएर प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो,’ मन्त्री आङ्बोले भन्न्ुभयो , ‘ती योजनामा बजेट न्यून भएकाले प्रदेशका नयाँ योजना समेत अगाडि बढाउन सकिएन ।’

चालू आर्थिक वर्षका लागि ५ अर्ब बजेट माग गरिएको समेत उहाँले बताउनु भयो । संघीय सरकारले १५ अर्ब बजेट उपलब्ध गराए प्रदेश १ सरकारमा ७०० किलोमिटर सडक कालोपत्रे हुनुका साथै ७० वटा पुल र खानेपानीका ५०० वटा योजना सम्पन्न हुने उहाँको दाबी छ ।

प्रदेश १ सरकारले चालू आर्थिक वर्षका लागि ४१ अर्बको बजेट ल्याएको थियो । प्रदेश सरकारले अघि सारेका गौरवका आयोजनामा समेत बजेट अभाव हुँदा कामको प्रगति हुन सकेको छैन ।

मोरङको घिनाघाट–विराटचोक सडक, कुशेचौरी पथरीशनिश्चरे सडक, किसानचोक–टाँडी सडक, सुनसरीको भोक्राहा–नरसिंह सडक, मोरङको गडिया खोलामा निर्माणधीन पुल, कर्सियाको मरिया खोलामा पुल, सुनसरीको खनारमा केशलिया खोलामा पुल लगायतका आयोजनामा समेत बजेट अभाव देखिएको छ ।

Back to top button