नेपाल श्रीलंका जस्तो डामाडोल भएको छैन, हुने पनि छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तो डामाडोल नभएको बताउनुभएको छ । उहाँले श्रीलंकाको जस्तो कागज किन्न नसक्ने अवस्थामा नेपालको अर्थतन्त्र पुगि नसकेको बताउनुभयो हो ।

रिपोर्टर्स क्लबको २४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले नेपाल श्रीलंकाको जस्तै संकटमा रहेको भनी गरिएका टिप्पणीहरूप्रति असहमति जनाउनुभएको हो ।

उहाँले नेपालमा आफ्नै खाले समस्या रहेको भन्दै श्रीलंकाको जस्तो डरलाग्दो स्थिति नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘मेरो अध्ययनमा नेपाल श्रीलंकाको स्थितिमा पुगेको छैन। सम्हाल्न सकिने ठाउँमै छ। म अर्थविद्हरूसँग छलफल गरिराखेको छु।’

अहिलेको समस्या समाधानका लागि गम्भीर पहल नभए अप्ठेरो स्थिति आउन सक्ने उहाँको चेतावनी थियो।

प्रचण्डले भन्नुभयो, ‘भोलि अप्ठेरो स्थिति आउन सक्छ। तर, अहिलेको समस्या समाधानका लागि पहल सुरू भइरहेको छ। गठवन्धनको नेताको हैसियतले भन्नुपर्दा यो स्थितिलाई हामी सम्हाल्नेछौं।’

नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुग्न लागेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरिरहेका छन्। अर्थमन्त्री जनार्दन शर्माले आवश्यक पहल नगरेको भन्दै सत्ता गठबन्धनमै उहाँको विकल्प खोज्नु पर्ने आवाज उठिरहेको छ।

Back to top button