त्रिकोणात्मक टी–२० श्रृङ्खला: नेपालले दियो २ सय ४ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २ सय ४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको हो । टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो छैटौं ठूलो स्कोर हो ।

आजको खेलमा चौथो नम्बरमा ब्याटिङ गर्नुभएका दीपेन्द्र सिंह ऐरीले ३३ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाउनुभयो ।

यसै खेलबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्नुभएका आदिल अन्सारीले आक्रमक ब्याटिङ गर्दै ३१ रन बनाउनुभयो । उहाँले ११ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्नुभयो ।

दीपेन्द्रले १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि ४ ओभर ४ बलमा आदिल अन्सारीसँग मिलेर ७६ रनको साझेदारी गर्नुभएको थियो । नेपालले अन्तिम ३ ओभरमा मात्रै ६० रन जोडेको थियो ।

यस्तै रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन जोड्नुभयो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ४४ रनको साझेदारी गर्दै नेपालको गतिलो सुरुवात गर्नुभएको थियो ।

कुशल भुर्तेल २० बलमा १७ रन बनाएर आउट हुनुभयो । आसिफ २९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ३८ रन बनाउँदा दशौं ओभरमा आउट हुनुभयो । तेस्रो विकेटका लागि दीपेन्द्र र रोहितले ५१ रनको साझेदारी गर्नुभयो ।

रोहितले २३ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन बनाउनुभयो । चौथो विकेटका लागि दीपेन्द्र र आदिल अन्सारीले ७६ रनको साझेदारी गर्नुभयो । दीपेन्द्र १९औं र आदिल २०औं ओभरमा आउट हुनुभयो ।

१९औं ओभरमा ३२ रन जोडेको नेपालले अन्तिम ओभरमा ३ विकेट गुमाएर ४ रन मात्र जोडेको थियो । बलिङमा पीएनजीका कबुअ मोरेअले ३, रिले हेकुरेले २ नोर्मन भानुअले १ विकेट लिनुभयो ।

Back to top button