अमेरिकाले अब दैनिक थप १० लाख ब्यारेल तेल बजार पठाउने

काठमाडौं । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा उर्जा संकट बढेपछि अमेरिकाले आफ्ना रणनीतिक भण्डारबाट ठूलो मात्रामा तेल निकाल्ने भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उर्जाको मूल्य उच्च रुपमा वृद्धि भएपछि मूल्य सन्तुलनका लागि ठूलो परिमाणमा तेल निकाल्न आदेश दिनुभएको हो ।

बाइडेनको आदेशअनुसार आउँदो ६ महिनामा अमेरिकी तेल भण्डारबाट १८ करोड ब्यारेलसम्म तेल निकालिने भएको छ। जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो।

अमेरिकाले आफ्नो भण्डारबाट तेल निकाल्ने घोषणा गरेलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ। अमेरिकाले हाललाई दैनिक १० लाख ब्यारेल तेल निकाल्नेछ। तर दैनिक १० लाख ब्यारेल तेलले विश्वको उर्जा संकट समाधान नहुने कतिपयको भनाइ छ।

यस्तै राष्ट्रपति बाइडेनले भन्नुभयो, अमेरिकी तेल आपूर्ति बढाउन थप कदम चालिने बताउनुभएको छ । युक्रेन आक्रमणपछि पश्चिमा देशहरुले रुसको तेलमा प्रतिबन्ध लगाउँदा विश्वमा उर्जा संकट चुलिएको हो। रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो।

Back to top button