पेट्रोलियम व्यवसायीको आन्दोलनका कारण आज प्रदेश १ का अधिकांश पेट्रोल पम्प बन्द

मोरङ । पेट्रोलियम व्यवसायीको आन्दोलनका कारण प्रदेश १ का अधिकांश पेट्रोल पम्प बन्द भएका छन्।

सरकारले गएको पछिल्लो समय दुईपटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्दा समेत व्यवसायीको कमिशनलाई सम्बोधन नगरेको जनाउँदै आन्दोलन सुरु भएको हो।

कोशी पेट्रालियम डिलर्स एशोसिएसनका अध्यक्ष दुर्गाबहादुर बस्नेतका अनुसार सरकारले अन्र्तराष्ट्रिय बजारमा मुल्यवृद्धि भएको जनाउँदै पेट्रोलमा गएको दुई महिना १० रुपैयाँ वृद्धि गरेको छ। तर, यसबीच व्यवसायीले खाइपाई आएको ३ प्रतिशत कमिसनबारे सुनुवाई नगरेको उहाँको भनाई छ।

उहाँले भन्नुभयो, ‘हामी विगत केही महिनादेखि नै मौन आन्दोलनमा थियौँ। सरकारले पेट्रोल प्रतिलिटर १ सय ४५ बाट १ सय ५० रुपैयाँसम्म मुल्यवृद्धि गर्यो। तर, मुल्यवृद्धि भएको १० रुपैयाँमा व्यवसायी, ढुवानीतर्फको कमिशन बढाउनेतर्फ सोचेन। सरकारले मुल्यवृद्धि गर्दा समेत हामीसँग कुनै प्रकारको छलफल गरेन। हामीलाई जानकारी नदिई सरकारले मुल्यवृद्धि गर्यो, तर हामीले पाउनुपर्ने कमिशन कटौति गर्यो।’

सरकारको एकपक्षीय निर्णयका कारण व्यवसायीहरुले सम्बन्धित डिपोबाट इन्धन नउठाउने र ढुवानी नगर्ने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।

अध्यक्ष बस्नेतले भन्नुभयो, ‘सरकारले १ सय ४५ रुपैयाँबाट १ सय ५० रुपैयाँ प्रतिलिटर पेट्रोल पुराउँदासमेत कमिशन नदिएकोमा विरोध गरेको थियो। हाल सो रकममा वृद्धि भएर १ सय ५५ रुपैयाँ प्रतिलिटर पेट्रोल पुगेको छ। तर हाम्रो कमिशन अझैपनि पुरानै रहेको छ। यस्तो अवस्थामा हामी व्यवसायीलाई तत्काल निरन्तरता दिन सक्दैनौ।’

पेट्रोल पम्पहरुले हिजोबाट नै विक्रीविरतण नगरेपछि समस्या थप बढेको विराटनगर मधुमाराका स्थानीय पुरुषोत्तम दाहालले जानकारी दिनुभयो। पेट्रोल पम्प बन्द हुदाँ सबैजना विराटनगरमा राती खुलेका सीमित पम्पमा लामो लाईन लगेर सवारीसाधनमा पेट्रोल भर्न बाध्य भएको उहाँको भनाई छ।

अर्कोतर्फ, पूर्वाञ्चल पेट्रोलियम ढुवानी एशोसिएसनका अध्यक्ष ध्रुवप्रसाद सिग्देलले आन्दोलनका कारण डिपोबाट इन्धन संकलन र ढुवानी नगर्ने बताउँनुहुन्छ। अध्यक्ष सिग्देल भन्नुहुन्छ, ‘विराटनगरस्थित डिपोले हिजोसम्म उपलब्ध गराएको सीमित इन्धनले आज विहानसम्म थामेका छौँ। अब भरेबाट के हुन्छ यसै भन्न सक्दैनौ।’

पेट्रोलमा मुल्यवृद्धि हुदाँ सार्वजनिक यातायातदेखि सबैतिर मुल्य समायोजन भएको बताएका अध्यक्ष सिग्देलले इन्धन ढुवानी गर्दै आएका शव्यवसायी भने अझैपनि पुरानै दररेटमा ढुवानीमा जोडिदै आएको बताउनुभयो। सरकारले आफूहरुको माग सुनुवाई नगरे बाध्यभएर भारतबाट र स्थानीय डिपोबाट इन्धन ल्याउने क्रम ठप्प गर्नुपर्ने अवस्था हुने उहाँले बताउनुभयो।

विराटनगर महानगरपालिकाभित्र कम्तीमा ११ वटा पेट्रोल पम्प रहेको छ। पम्पबाट आज सीमित पेट्रोल वितरण हुने र त्यसपछि पेट्रोल विक्रीमा रोक लगाउने कोशी पेट्रोलियम डिलर्स एशोसिएसनले जनाएको छ। यद्धपी, डिजलको हकमा भोलिसम्म विक्री गर्न सकिने एशोसिएसनले जनाएको छ।

विराटनगरमा दैनिक १५ देखि २५ किलोलिटर पेट्रोल दैनिक खपत हुदैँ आएको छ। त्यसैगरि, सिजन अनुसार कम्तीमा ५० किलोलिटर डिजल विराटगरमा खपत हुने गरेको एशोसिएसनले जनाएको छ।

Back to top button