आवश्यकता अनुसार स्थानीय तहमा चुनावी तालमेल हुन्छ : राजेन्द्र लिङदेन

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आवश्यकता अनुसार स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलसँग गठबन्धन हुन सक्ने बताउनुभएको छ ।

आज जनकपुरधाम स्थित विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले अहिलेसम्म कुनै दलसँग औपचारीक कुराकानी नभएपनि आवश्यकता अनुसार अन्य दलले पनि चासो राखेको अवस्थामा गठबन्धन हुन सक्ने बताउनुभएको छ ।

उहाँले स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा एक्लै उम्मेदवार उठाएर जाने तयारी रहेपनि आवश्यकता अनुसार स्थानीय तहमा चुनावी तालमेल गर्न सक्ने बताउनुभयो ।

उहाँले अघिल्लो निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवार नउठाएकाले समेत केही स्थानीय तहमा मात्र जित हासिल गरेकाले यस पटक सबै स्थानीय तहमा उम्मेदवार उठाउने तयारी रहेको बताउनुभयो ।

लिङदेनले राप्रपाले जितेको स्थानीय तहलाई नमूनाको रुपमा विकाससँगै जनतालाई प्रत्यक्षरुपमा सेवा सुविधा दिइएको र शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकास, र सुशासन आफूहरुको एजेण्डा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामी पहिलो पार्टी बन्छौँ यो दावा गर्दिन् तर जतिमा जितछौँ त्यसलाई नमूना बनाउँछौँ । हामी ५० प्रतिशतसम्म कर घटाउँछौँ । र तिनै स्थानीय तहहरुबाट हेराउँछौँ राप्रपाले पुरै देशको नेतृत्व गरेको कस्तो विकास हुन्छ ।’

Back to top button