
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले दुईतिहाइ भन्दा बढी सीट ल्याउने दाबी गर्नुभएको छ ।
ललितपुर महानगरपालिका वडा–१८ मगरगाउँमा आज आयोजित कार्यक्रम सम्बोधन गर्दै उहाँले वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा एमालेले दुईतिहाइ भन्दा बढी सीट ल्याउने दाबी गर्नुभएको हो ।
आगामी निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरि १ नम्बरको शक्तिशाली पार्टी देखाउने दाबी गर्दै पौडेलले भन्नुभयो, ‘एमालेले दुईतिहाइ बढी सिट ल्याएर विजय हासिल गर्नेछ।’
एमाले प्रवेशको लहर चलेपछि पाँच दलीय गठबन्धन डराएको उपाध्यक्ष पौडेलले बताउनुभयो । सरकारले स्थानीय तह निर्वाचन रोक्न सक्दो प्रयास गरे पनि एमालेको दबाबका कारण नरोकिएको उपाध्यक्ष पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अब कसैले चाहेर पनि रोकिँदैन । तपाईंहरु निर्वाचनको परिणाम आएर विजय जुलुस ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस् ।’
उपाध्यक्ष पौडेलले अहिलेको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप समेत लगाउनुभयो ।