
सिमकोट । सिमकोट बजार क्षेत्रको सरसफाइ गर्ने कार्य कर्मचारी र जनप्रतिनिधिको भर पर्नुपर्ने अवस्था आएको छ। घरधनी र बहालमा बस्नेले आफ्नै अगाडि सरसफाइ नगर्ने भएको कारण कर्मचारी र सुरक्षाकर्मीले आएर सरसफाई गर्नुपरेको हो।
बिहान प्रमुखजिल्ला अधिकारी सीता परियारको नेतृत्वमा सिमकोट बजारको सरसफाइ गर्ने कार्य भएको छ। जताततै फोहोर बढेर दुर्गन्धित हुन थालेपछि सरसफाइ गर्ने कार्य भएको हो। कुचो समातेर आफँै सरसफाइमा खटिएकी प्रजिअ परियारले बजारलाई स्वच्छ र सफा राख्न उक्त अभियानमा लागेको बताउनुभयो।
मुख्य–मुख्य चोकमा फोहोरको थुप्रो लाग्दै आएको थियो। त्यसैगरी, ढलमा पनि फोहोर भरिएर पानी सडकमा आउन थालेपछि मानिसलाई आवतजावतमा समस्या हुने गरेको बेला सरसफाइ गरिएको हो। सरसफाइ गरेर जम्मा पारिएको फोहोरलाई बोहरा राखी ट्र्याक्टरबाट डम्पिङ साइट लग्ने कार्य सिमकोट गाउँपालिकाले गरेको हो।
उहाँले स्वच्छ र सफा सिमकोट बनाउन घरधनी र भाडामा बस्नेलाई सरसफाइ अभियानमा स्वतस्फुर्त लाग्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बजार क्षेत्रभरि जताततै फोहोर बढेपछि त्यसबाट सफा राख्न अब साप्ताहिक रुपमा सरसफाइ अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो।
त्यससँगै अब आफ्नो घर अगाडिको फोहोर नउठाउनेलाई जरिवाना गर्ने नियम पनि चाँडै गाउँपालिकाले ल्याउने उहाँको भनाई छ ।