मृत भेटिए नोबेल अस्पतालका चिकित्सकः घरको दोस्रो तल्लाबाट हामफालेको हुनसक्ने आशंका

मोरङ । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सक मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सप्तरीको विष्णुपुर गाउँपालिकाका २७ वर्षीय विजय यादव विराटनगर–४ स्थित बस्दै आएको भाडाको घरमा आज बिहान मृत भेटिनुभएको हो ।

उहाँ नोबेल अस्पतालको हाड जोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसर हुनुहुन्थ्यो। उहाँ भाडामा बस्दै आउनुभएको घरको कम्पाउण्डभित्रै मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो।

स्थानीय प्रेम बस्नेतको घरको दोस्रो तलामा बस्दै आउनुभएका यादव बिहान लडिरहेको अवस्थामा फेला पर्नुभएको उहाँले बताउनुभयो। बिहान करिब ७ बजे यादव घोप्टो परेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। यादवको नाक र मुखबाट रगत बगेको पाइएको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले घटनाबारे अनुसन्धान अघि बढेको बताउनुभयो ।

नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार यादव विगत ४ वर्षदेखि अस्पतालको हाडजोर्नी विभागमा कार्यरत हुनुहुन्थ्यो । अस्पतालले हिजो मोरङको कटहरी गाउँपालिकामा सम्पन्न गरेको स्वास्थ्य शिविरमा यादव पुगेको प्रबन्धक दाहालले जानकारी दिनुभयो । शिविरबाट यादव घरमै फर्किएको जानकारी पाएको उहाँले बताउनुभयो।

यस्तै, चिकित्सकको मृत्युको कारण खुलेको छैन। घरको दोस्रो तल्लाबाट हामफालेको हुनसक्ने प्रहरीको अनुमान छ। घटना यकिन गर्न प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यादवको शव विराटनगरको कोसी अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ।

घटना शंकास्पद रहेको मृतकका आफन्तले प्रतिक्रिया दिएका छन्। उनीहरुले घटना अनुसन्धान गरी छिटोभन्दा छिटो सत्यतथ्य सार्वजनिक गर्न प्रहरीसँग माग गरेका छन्।

Back to top button